Logo

‘प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको छ’



काठमाडौँ, २० साउन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताएका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा शनिबार उनले जस्तोसुकै अप्ठेरो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुने उल्लेख गरे । पुनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए ।

करिब १०० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्बिरलाई लिएर आफूमाथि उठाइएको प्रश्नप्रति लक्षित गर्दै उनले स्पष्टीकरण दिएका हुन् ।

“सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ । अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ,” पुनले भने, “कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ ।”

गृहजिल्ला रोल्पाकी सहिद परिवारकी सदस्य एवं पार्टी कार्यकर्ता अमला रोकामगरले दावासँग विवाह गरेर चिनजानका लागि ल्याउँदा खिचिएको तस्बिरलाई लिएर अनर्थ लगाइएको उनले यसअघि पनि बताएका थिए ।

उनले अध्यक्ष प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने बताए ।

“अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु,” उनले भने, “उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔँ ।”

प्रतिक्रिया दिनुहोस्