पोखरा, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने स्पष्ट पारेका छन् ।
पोखरामा शुक्रबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
“मलाई विभिन्न जिल्लाबाट अन्य पार्टीका साथीहरुले पनि आइदिनुपर्यो भन्नु भएको छ,” पत्रकारले राखेको जिज्ञासामा उनले भने, “कांग्रेसका नेताले गोरखा आइदिनुपर्यो भन्नुभयो । तर म अहिले चितवनबाटै लड्छु । चितवनका जनता, चेतना र भावनाप्रति विश्वास छ । गठबन्धन पनि छ । जित सुनिश्चित छ ।”
उनले चितवनभन्दा बाहिर जाँदा सन्देश राम्रो नजाने पनि बताए ।
“चितवन छाड्दा सन्देश राम्रो हुँदैन । त्यहाँ चुनाव लड्दा कहिँ न कहिँ नकारात्मक सन्देश जान्छ । चितवनमा जित्छु भन्नेमा पूर्ण विश्वासमा छु । हुन त म फरक फरक ठाउँबाट चुनाव लडेँ । प्रचण्ड देशभरिका जनताको हो भन्ने सन्देश दिनु थियो,” उनले भने, “अहिले चितवन छाडेर हिँडदा डराएर हिँडेको भन्ने हुन्छ । मैले त्यहाँ जित्छु पनि ।”







