Logo

प्रचण्ड भन्छन् : छिटो आर्थिक क्रान्ति गर्न गोरखा-२ रोजेको हुँ



गोरखा, २४ कार्तिक । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राजनीतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन् ।

बिहीबार जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ स्थित याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ ।’

निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले यसअघि जितेको चितवनमा ६११ किमि बाटो कालोपत्रे भएको छ । म हिडेको धुलेबाटोहरु मेरै कार्यकालमा कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्