काठमाण्डाै, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी र भ्रष्टाचारको चुनौतीलाई चिरेर अघि बढ्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस–२०८१ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले युवाहरूलाई सशक्त बनाएर नै देशलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले सन् २०२६ सम्ममा नेपाललाई अतिकम विकसित देशको हैसियतबाट स्तरोन्नति गर्ने र त्यसको दिगो व्यवस्थापनका लागि आर्थिक सूचकहरूको बढोत्तरी गर्ने आधार पनि लोकतन्त्र नै भएको बताउनभुयो । लोकतन्त्रको खुला मैदानमा नै नागरिकको जीवनमा प्रगति भएको जनाउँदै उहाँले बढ्दो जनआकाङ्क्षा र चुनौतीबीच राज्यको संस्थागत र सामर्थ्यबीच लय मिलाएर सङ्गतिपूर्ण ढङ्गले अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले देशको सुशासन, विकास, समृद्धि र नागरिकको सुखको सुनिश्चितताका लागि प्रभावकारी शासन प्रणाली र सुव्यवस्थाको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट भई योगदान गर्न सम्पूर्णमा आह्वान गर्नुभएको छ ।
‘राष्ट्रको समृद्धि र जनताको सुख’ लाई आफूले ‘परिपूर्ण लोकतन्त्र’ भन्दै आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले ‘सङ्गठन र अभिव्यक्तिको स्वतन्त्रता’ को मात्र वकालत गरेको अवस्थामा परिपूर्ण लोकतन्त्रले सबैलाई ‘अधिकार र अवसर, समानता र सामाजिक न्याय, सुरक्षा र सम्मान’ मा समान पहुँचको पैरवी गरेको बताउनुभयो । उहाँले सरकार समग्र विकासमार्फत व्यक्तिको मानवीय र जैविक न्यायोचित आवश्यकताको सहज परिपूर्ति गर्ने दिशातर्फ इमानदारीपूर्वक हिँडिरहेको बताउनुभयो ।
फागुन ७ ले देशलाई सबै हिसाबले स्वतन्त्र र सार्वभौम बनाउने दृढ सङ्घर्ष अघि बढाएको जनाउँदै प्रधानमन्त्री ओलीले भविष्यका रूपमा उदाउँदै गरेका भोलिको पुस्ताले आजको दिनलाई बिर्सनै नमिल्ने बताउनुभयो ।
जहानियाँ शासकले आफ्ना सन्तानका लागि दरबार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रजातन्त्रले नागरिकका लागि सडक, पुल, कुलो, बिजुली, व्यावसायिक व्यापार केन्द्र, अस्पताल र विद्यालय बनाएको बताउनुभयो ।
फागुन ७ गतेले सम्पूर्ण नेपालीलाई इतिहासप्रति गौरव गर्न, वर्तमानमा क्रियाशीलले जिम्मेवारी निर्वाह गर्न र भविष्यप्रतिको उत्तरदायित्वलाई सामाजिक सम्पत्तिका रूपमा पूँजीकृत गर्न अभिप्रेरित गरिरहने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले नेपालको लोकतान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्नुभएको छ ।