काठमाडौँ, १९ पुस । नेकपा (एकीकृत समाजवादी)को सोमबार बसेको पोलिटब्यूरो बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखेका छन् ।
शनिबार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्यूरो सदस्यको सुझाव बुझ्न उक्त बैठक बोलाइएको थियो । बैठकमा अध्यक्ष नेपालको प्रस्तावमा पोलिटव्युरो सदस्यले निर्णय गर्ने भएका छन् ।
अध्यक्ष नेपालले बैठकमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमका बारे जानकारी गराएका थिए । उनले पार्टीलाई सबल बनाएर शक्ति निर्माणका लागि आवश्यक नीति तथा कार्ययोजनामा जोड दिएका छन् ।
सोमबार भएको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, सरकारमा पार्टीको सहभागिताका विषयमाकेन्द्रित गरिएको छलफलमा ३० नेताले बालेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको छ ।






