काठमाडौँ, २३ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पालिका चुनावमा सत्तारूढ गठबन्धनलाई जिताउनुको विकल्प नरहेको दाबी गरेका छन् ।
अध्यक्ष नेपालले केपी ओली नेतृत्वको गठबन्धनलाई प्रतिगामीको संज्ञा दिँदै त्यसैको पक्षमा मतदान गरे देश र जनताले पछुताउनुपर्ने अवस्था आउने जिकिरसमेत गरेका छन् ।
सत्तारूढ गठबन्धनले आज काठमाडौँमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले देशको भविष्यलाई सुनिश्चित गर्न, परिवर्तनको यात्रामा जान र अहिलेसम्म प्राप्त भएका उपलब्धि जोगाउनका लागि सत्तारूढ पाँचदलीय गठबन्धनको विकल्प नभएको बताए ।
उनले भने, ‘कतिपयलाई हामी एक्लै पार लगाउन सक्दछौँ भन्ने लागेको हुन सक्छ । यो भ्रमबाट सबैले मुक्त हुन जरुरी छ । अहिले पनि एकताबद्ध भएर जाने कुराको विकल्प छैन । अहिले देशमा दुइटा गठबन्धन छ । प्रगतिशील गठबन्धनको पक्षमा लाग्ने कि प्रतिगामीको पक्षमा? प्रगतिशील गठबन्धनमा सामेल भएका दलहरूको पक्षमा मतदान गर्नुहोस् । प्रतिगामी कित्तामा उभिएकाहरूको पक्षमा मत खसाल्नुभयो भने पछि तपाईँले पनि पछुताउनुपर्नेछ । यदि हामी भविष्यलाई सुनिश्चित गर्न चाहन्छौँ भने पाँच दलीय गठबन्धनको विकल्प छैन ।’
अध्यक्ष नेपालले देशलाई भ्रष्टाचारमुक्त बनाउन, नयाँ मोडलका साथ देशको विकास गर्ने उद्देश्यका साथ सत्तारूढ दलहरूले पालिका चुनावमा पनि गठबन्धन गर्नुपरेको तर्क गरेका छन् ।