Logo

प्रतिगामीले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध षड्यन्त्र गरे: प्रचण्ड



काठमाडौँ, २६ वैशाख । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलाई आफूहरूले अग्रगमन र प्रतिगमनको लडाइँका रूपमा लिएको बताएका छन् । प्रतिगामी तत्वले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध षड्यन्त्र गरिरहेको उनको भनाइ छ ।

सोमबार एक सन्देश जारी गर्दै उनले भनेका छन्, “यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकारसम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरूले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् । त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाइँको रूपमा लिएका छौँ ।”

उनले आसन्न स्थानीय तह निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोसेढुंगा बनोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् । आफूहरूले साँचो अर्थमा खोजेको संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझै पनि जनताले अनुभूति गर्न नसकेको उनले उल्लेख गरेका छन् ।

“स्थानीय तहलाई अधिकारसम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चिततामार्फत सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने चुनौती हाम्रोसामु छ,” उनले भनेका छन् ।

आफूहरूलाई यथास्थितिमै रुमल्लिन रहर र छुट दुवै नभएको पनि उनले बताएका छन् । उनले भनेका छन्, “कृषिमा अनुदानमार्फत उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामीण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत–पसिना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न सक्दैनन् ।”

 

प्रतिक्रिया दिनुहोस्