Logo

‘प्रतिगामी र संविधान विरोधी शक्तिहरुलाई यही निर्वाचनबाट सबक सिकाउनु पर्छ’



गोरखा, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आइतबार हिमालपारि उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामा गाउँ, सिर्दिबास र माछा खोलाका मतदातासँग भेटघाट गरेका छन् ।

गोरखाको क्षेत्र नं.१ मा उक्त गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाका अति विकट क्षेत्रको विकासका लागि आफूले पहल गर्नु प्रतिबद्धता व्यक्त गरेका थिए ।

गोरखाको विकास र समृद्धिका लागि नै आफूले यस पटकको निर्वाचनमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधान विरोधी शक्तिहरुलाई यही निर्वाचनबाट सबक सिकाउनु पर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डले अहिले संविधान पक्षधर र विरोधीहरुको लडाई रहेको चर्चा गर्दै सत्ता गठबन्धनले संविधानको रक्षा, समृद्धि र अग्रमगनको नेतृत्व गरेको तर एमाले र केपी ओलीले प्राप्त उपलब्धिलाई समाप्त पार्ने र देशलाई अँध्यारो सुरुङतर्फ लान खोजेको बताए ।

राजनीतिक परिवर्तनको लागि जनयुद्धको तयारी गोरखाबाटै गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने,‘अहिले राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको छु ।’

निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘यहाँको सडक विस्तार, भएका सडकलाई कालोपत्रे, विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्