Logo

प्रतिनिधिसभाको बैठक आज बस्दै



काठमाडौँ, २५ पुस । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ ।

दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा सङ्घीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । यस्तै प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रसमेत वाचन गरेर सुनाइनेछ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभाको बैठक सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सञ्चालन गर्नुका साथै सदस्यलाई स्वागत गर्ने छन् । बैठकबाट ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि प्रतिनिधिसभा नियमावलीअनुसार सात जना सदस्य चयन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्