काठमाडौँ, २३ साउन । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ ।
अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा बैठक आजसम्मका लागि स्थगित भएको हो ।
सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका शीर्ष नेताहरुका बीचमा दिनभर भएको छलफलमा सहमति हुन नसकेपछि प्रतिनिधिसभाको बैठक पनि सूचना टाँसेर स्थगित भएको हो । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
अवरोध हटाउन आज पनि शीर्ष नेताबीच बालुवाटारमा छलफल हुनेछ । सोमबार सभामुख घिमिरेले आफ्नै कार्यकक्ष सिंहदरबारमा गरेको छलफलमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनका विषयमा दलहरु आ-आफ्ना अडानबाट पछि नहट्दा सहमति जुट्न सकेको थिएन ।
दलहरुबीच भएको छलफलमा प्रमुख प्रतिपक्षी एमालेले उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान दोहोर्याएको थियो । तर सत्तापक्षका नेताहरु राज्यकै संयन्त्रले छानबिन गरिरहेकाले अर्को समिति आवश्यक नरहेको बताएका थिए ।





