काठमाडौँ, १५ साउन । प्रतिनिधिसभाको सोमबारको लागि बोलाइएको बैठक स्थगित भएको छ ।
संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगन गरेको हो ।
बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगन भएको सभामुख देवराज घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए ।
क्विन्टल सुन तस्करी प्रकरणमा नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेको छ । यो विषयमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवाद भएको थियो ।
तर, समिति बनाउन सरकार तयार नभएको भन्दै एमालेले बैठक चल्न नदिने अडान राखेपछि सूचना टाँस गरेर बैठक स्थगन गरिएको हो ।





