Logo

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेको अग्रता कायमै



काठमाडौँ, १७ मंसिर । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

शनिबार बेलुका ७ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १,०४,१६,९८१ मतगणना हुँदा नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ८६ हजार ८६९ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ५९ हजार ३९९ मत ल्याएको छ ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमै छ । माओवादी केन्द्रले ११ लाख ६२ हजार १० मत पाएको छ । ११ लाख २४ हजार ९६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८६ हजार ५१३ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९४५ मत पाउँदै छौटौँ स्थानमा छ ।

त्यस्तै जनमत पार्टी तीन लाख ९४ हजार ५०३ मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार ३२५ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६६० मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार २८० मतसहित दशौँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्