काठमाडौं, २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई प्राथमिकतामा राख्दै सरकारले नेपाली सेनालाई एक महिनाअघि नै देशभर परिचालन गर्ने निर्णय गरेको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ अनुसार बुधबारदेखि सेना फिल्डमा खटिन थाल्ने भएको हो।
सरकारले निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ जना नेपाली सेनालाई परिचालन गर्ने जनाएको छ। सेना सशस्त्र प्रहरीद्वारा सुरक्षा गरिँदै आएका सार्वजनिक भवन, कारागार र अन्य संवेदनशील स्थलमा समेत खटाइने छ। साथै, निर्वाचनको क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रहरीसमेत संयुक्त रूपमा परिचालित हुनेछन्।
नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतका अनुसार निर्वाचन हुनुभन्दा एक महिनाअघिबाटै सेना परिचालन गर्ने म्यान्डेटअनुसार सबै तयारी पूरा भइसकेको छ। सुरक्षा योजना अनुसार सेना गस्ती, पेट्रोलिङ तथा संवेदनशील मतदानस्थलमा संयुक्त सुरक्षामा सक्रिय रहनेछ।
यसअघि, निर्वाचन आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका थिए। त्यसपछि सेनाले एकीकृत सुरक्षा योजना तयार गर्दै तालिम र अभ्यास सम्पन्न गरेको जनाएको छ।
गृह मन्त्रालयका अनुसार निर्वाचन अवधिभर चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी कुल ३ लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन गरिनेछ। यसमध्ये नेपाल प्रहरीबाट ७५ हजार ५९७, सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ र निर्वाचन प्रहरीबाट एक लाख ३० हजारभन्दा बढी जनशक्ति खटाइनेछ। साथै, १ हजार ९२१ गुप्तचरसमेत परिचालन गरिनेछ।
सरकारले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जनाएको छ।






