काठमाडौं, २१ फागुन । जेन्जी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान भइरहेको छ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने व्यवस्था गरिएको छ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो। यसपटक ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको छ।
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गरिरहेका छन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, तीन सय ८८ महिला र एक अन्य गरी तीन हजार चार सय ६ उम्मेदवार चुनावी मैदानमा छन्।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार तीन सय ६३ पुरुष र एक हजार सात सय ७२ महिला गरी तीन हजार एक सय ३५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।
निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता रहेका छन्। साथै एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता पनि कायम गरिएको छ।
देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ भने १ सय ४३ अस्थायी मतदानस्थल पनि तोकिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, एक हजार ९ सय २१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। निर्वाचन सम्पन्न गराउन दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ।
आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल चार करोड २२ लाख ५१ हजार २ सय मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पु¥याइसकेको जनाएको छ।
यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय तथा ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतले नागरिकलाई उत्साहजनक रूपमा निर्वाचन प्रक्रियामा सहभागी भई मतदान गर्न आह्वान गरेका छन्।







