Logo

प्रतिनिधि सभा बैठक: एमालेले जनायो विरोध



काठमाडौँ, ११ फागुन । प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरूले विरोध जनाएका छन् ।

शुक्रबार बिहान बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरूले विरोध जनाएका हुन् । बैठक सुरू भएपछि प्रतिपक्षी दलहरूले उभिएर विरोध जनाएका छन् ।

त्यसक्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले बोल्दै सरकारमा रहेका मन्त्रीहरूमाथि नैतिक प्रश्न उठाउँदै विरोध जनाएका हुन् । जसक्रममा उनले मन्त्रीहरूको पनि राजीनामा माग गरेका छन् ।

बालकुमारी घटना जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि नैतिक प्रश्न उठाएको भन्दै एमालेले राजीनामा माग गरेको हो । सांसद भट्टराईले जाँचबुझ आयोगको प्रतिवेदन संसदमा पेश गर्न माग समेत गरेका छन् ।

यस घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार संसदमा भएको प्रश्नोत्तर‍ कार्यक्रममा बालकुमारी घटनामा दुई युवाको मृत्यु नभई हत्या भएको भन्ने शब्द चयन गरेको हुँदा सरकार आफैंले जिम्मेवारी लिनुपर्ने भट्टराईले बताए ।

उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि हत्याको नैतिक जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।

त्यसैगरी टेरामक्स घोटाला प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले बयान दिएको भन्दै एमालेले उनको पनि राजीनामा मागेको हो ।

सांसद भट्टराईले बयान नै प्रभावित हुनसक्ने गरी मन्त्री बस्नेतले सरकारी पदको दुरूपयोग गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्