काठमाडौँ, ६ साउन । संघीय संसद प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको छ ।
सत्तारूढ दलकै र विपक्षी दलका सांसदका संशोधन प्रस्तावका केही मुद्दा सम्बोधन गरेर नागरिकता सम्बन्धी नयाँ विधेयक पारित गर्ने तयारी भएको हो ।
बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ माथि प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिनेछ । त्यसपछि गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक-२०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकारले गएको २४ गते ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको थियो । विधेयकमाथि ३१ वटा समूहका ९४ सांसदका संशोधन प्रस्ताव छन् । संशोधन प्रस्तावमाथिको छलफलपछि विधेयक निर्णायार्थ पेस गर्ने तयारी छ ।







