Logo

प्रतिपक्ष र सत्तापक्ष दुवैको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित



काठमाडौँ, २६ साउन । सत्ता र प्रमुख प्रतिपक्षी दुवैको अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि नियमित कार्यसूचीमा प्रवेश गर्ने क्रममा एमाले सांसदले उठेर विरोध गरेका थिए ।

त्यसपछि अध्यक्ष गणेश तिमल्सिनाले एमाले संसदीय दलका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए । तर, सत्ता पक्षका सांसदहरुले प्रतिपक्षलाई मात्रै बोल्न दिएको भन्दै उठेर विरोध गरिरहेका थिए ।

सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बसेर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर, सत्ता र प्रतिपक्षी दलका सबै सांसदले उठेर विरोध गरिरहेपछि अध्यक्ष तिमल्सिनाले बैठक स्थगित भएको घोषणा गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक अब साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

एमालेले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० बाट संघीय संसदका दुवै सदन चल्न दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्