काठमाडौँ, १० असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्ष विरोधभाषमा फस्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।
सहिलाई सही र गलतलाई गलत भन्ने पक्षमा प्रतिपक्ष र सत्तापक्ष तयार नभएसम्म मुलुकमा संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई सही ढंगले अघि बढाउन नसकिने भएकाले पनि प्रतिपक्ष विरोधमा र सत्तापक्ष निरंकुश बन्न नहुने उनको तर्क थियो ।
आइतबार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय अन्तर्गतको विनियोजन शिर्षकमाथि सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सहीलाई सही भन्न सक्ने गरी राजनीतिक दलहरू अघि बढे मात्रै मुलुकको लोकतन्त्रको औचित्य पुष्टि गर्न सकिने समेत स्पष्ट पारे । उनले प्रतिपक्षका केही सांसदहरूले प्रहरी बढुवामा पैसाको चलखेल भएको आरोप लगाएको उल्लेख गर्दै त्यसलाई आफूले शून्यमा झारिदिएको दावी गरेका थिए ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपालको लोकतन्त्र मौलिक खालको भएको उल्लेख गर्दै त्यसलाई उन्नत ढंगले अघि बढाउने विषयमा राजनीतिक दलहरूले गम्भीर आत्मसमीक्षा गर्दै अघि बढनुपर्ने आवश्यकता औंल्याएका हुन् ।







