काठमाडौँ, २२ मङ्सिर । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला कोटामा प्रत्यक्षतर्फ नै महिलालाई जिताउनुपर्ने जरुरी भएको बताएकी छन् ।
कृषि, वन, आधारभूत स्वास्थ्य तथा सहकारी (एबीसी) नेपाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ‘हिंसापछिको जीवन अनुभव आदानप्रसाद कार्यक्रम’मा उपसभामुख रानाले महिलालाई संविधानले व्यवस्था गरेको कोटामा महिलाले नै प्रतिस्पर्धा गर्ने खालको वातावरण बनाउनुपर्नेमा जोड दिइन् ।
“कानुनीरुपमा व्यवस्था गरिएको सिटमा पनि महिलालाई समानुपातिकमा राखिन्छ, त्यसले महिलाको क्षमता र नेतृत्व विकासमा सहयोग गरेको छैन”, उपसभामुख रानाले थपिन, “महिलालाई प्रत्यक्षमा निर्वाचनमा उठेर जित्ने वातावरण बनाउन जरुरी छ, त्यो काम राज्यले गर्नुपर्छ ।” अहिले पनि मुलुकमा लैङ्गिक हिंसा अन्त्य हुन नसकेको उल्लेख गर्दै उनले बाल्यअवस्थादेखि नै छोराछोरीलाई समान तरिकाले हुर्काउने र विद्यालय, घर र समाजबाट लैङ्गिक हिंसा अन्त्यका लागि काम गर्नुपर्नेमा जोड दिइन् ।






