काठमाडौँ, २४ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको निर्वाचनमा प्रतिनिधिसभाअन्तर्गत देशभर एक हजार नौ सय ३७ पुरुष र एक सय ९१ महिला गरी कूल दुई हजार एक सय २८ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभातर्फ दुई हजार छ सय पुरुष, दुई सय ४४ महिला र एक अन्य गरी दुई अजार आठ सय ४५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
सोमध्ये प्रदेश नं १ मा चार सय ४५ पुरुष,४९ महिला गरी चार सय ९४, मधेश प्रदेशमा सात सय ११ पुरुष, ५५ महिला र एक अन्य गरी सात सय ६७, बागमती प्रदेशमा पाँच सय ६१ पुरुष, ७४ महिला गरी छ सय ३५, गण्डकी प्रदेशमा एक सय ९९ पुरुष, २९ महिला गरी दुई सय २८, लुम्बिनी प्रदेशमा चार सय १४ पुरुष, २३ महिला गरी चार सय ३७, कर्णाली प्रदेशमा ७९ पुरुष, दुई महिला गरी ८१ र सुदुरपश्चिम प्रदेशमा एक सय ९१ पुरुष, १२ महिला गरी दुई सय तीन उम्मेदवारले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
दर्ता भएका उम्मेदवाहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको छ । सोमबार असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ ।







