Logo

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था ल्याउनुपर्छ: लिङ्देन



वीरगञ्ज, १६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था ल्याउनुपर्ने बताएका छन् ।

राप्रपा पर्साले वीरगञ्जमा आयोजना गरेको एक घर एक राष्ट्रिय झण्डा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताले नै प्रत्यक्ष निर्वाचित गरेर प्रधानमन्त्री बनाउने व्यवस्थाका लागि राप्रपा लडिरहेको बताए । उनले अभिभावकीय भूमिकाको रूपमा राजा हुनुपर्ने र जनताले चुनेको प्रधानमन्त्री भए मात्रै देश समृद्ध बन्ने तर्क गरे ।

“यो देशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय संस्थाको रूपमा राजा रहनुपर्छ, अनि मात्र मुलुक बच्छ र समृद्ध बन्छ,” संघीयता खारेज हुनुपर्ने धारणा राख्दै लिङ्देनले थपे, “स्थानीय र केन्द्र दुई तहको संरचना मात्र भए पुग्छ, प्रदेश सरकार खारेज गर्नुपर्छ । हाम्रो जस्तो सानो देशले धेरै मन्त्री र जनप्रतिनिधि पाल्न सक्तैन ।”

नेताहरूले लुटतन्त्र मच्चाएको र मोजमस्तीको माध्यम बनाएको आरोप लगाउँदै उनले संघीयता अब यो मुलुकले थेग्न नसक्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्