Logo

प्रथम मेचिनगर-१२ वडा अध्यक्ष कराँते प्रतियोगिताको उपाधि अर्जुनधारा डोजोलाई



झापा, १९ चैत । प्रथम मेचिनगर-१२ वडा अध्यक्ष कराँते प्रतियोगिताको उपाधि अर्जुनधारा डोजोले जितेको छ । सहरेडाँगी सितोरियो कराँते डोजोको आयोजनामा शनिबार भएको प्रतियोगितामा ९ गोल्ड र १ सिल्भरसहित अर्जुनधाराले उपाधि हात पारेको हो ।

त्यस्तै दोश्रो स्थान प्राप्त गर्ने इटाभट्टा डोजोले २ गोल्ड मेडल प्राप्त गर्यो भने प्रतियोगितामा तेस्रो स्थान हात पार्ने आयोजक सहरेडाँगी डोजोले १ गोल्ड, ३ सिल्भर र ११ ब्राउन्ज मेडल हात पारेको थियो । विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

झापा जिल्ला भरिबाट जम्मा १६ वटा टिमको सहभागीता रहेको प्रतियोगितामा पुरुष तर्फबाट अर्जुनधाराका सनम तामाङ्ग र महिला तर्फबाट आयोजक टिमका गुराँस गहतराज उत्कृष्ट खेलाडीको रुपमा सम्मानित भएका थिए ।

संस्थाका अध्यक्ष शिव प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचिनगर नगरपालिकाका प्रमुख बिमल आचार्य रहेका थिए ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी आचार्य, मेचिनगर नगरपालिका वडा नं.१२ वडाध्यक्ष नरेन्द्र धिमाल, वडा नं.११ का वडाध्यक्ष सन्तोष मेचेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त अवसरमा पुर्व खेलाडी पर्शुराम चेम्जोङ्ग, तेजु प्रसाई र भिष्मराज पौडेलले मानार्थ ब्लाक बेल्ड प्राप्त गरेका थिए भने पुर्व खेलाडीहरु कृष्ण धमला, मनबहादुर धिमाल, इन्द्रमणी प्रसाई, सन्तोष बस्नेत, राजेन्द्र कार्की लगायतलाई खादा, अबिर र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

अन्तरास्ट्रिय रेफ्री कुमार उप्रेतीले औचित्य माथी प्रकाश पारेको कार्यक्रममा वरिष्ठ कराँते प्रशिक्षक कालू मेचे, अर्जुन लम्साललगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका उपाध्यक्ष आइदेव राईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सहरेडाँगी डोजोका सचिव हरिकृष्ण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्