Logo

प्रदीप भन्छन्: मतले जितेँ अब मनले जित्नेछु



काठमाडौँ, २ पुस । नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन् ।

शनिवार काठमाडौँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए । उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारेका थिए ।

उनले निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने बताए । नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताए । उनले मत प्राप्त गरेपनि अब आम नागरिकको मन जित्न जरुरी रहेको बताए ।

नेता पौडेलले भने, ‘हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ । हामीले ५ वर्ष भित्र पूरा गरेर देखाउनेछौँ । यो असाध्यै चुनैतीपूर्ण छ । हामीले मत प्राप्त गर्‍यौं अब मन जित्न जरुरी छ । जिताइयो अब यसले मात्रै सबैथोक गर्छ भनेर नछोडिदिनुहोला । तपाईंहरुको नै साथ चाहिन्छ । हामीले भनेका कुरा पूरा गर्न जरुरी छ । हाम्रा प्रतिवद्धतामा हामी अडिग छौँ । राजनीतिक व्यथितिको अन्त्य गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस्