Logo

प्रदेशमा मुख्यमन्त्रीका लागि कसरत



काठमाडौँ, १८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचन नतिजा लगभग आइसकेको छ । प्रत्यक्षतर्फ शनिबार स्याङ्जा २ को नतिजा आएको छ भने दोलखा र बाजुरामा मतगणना जारी छ ।

स्याङ्जा २ मा कांग्रेस नेता धनराज गुरुङ निर्वाचित भएक छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेकी पद्मा अर्याललाई ५ हजार २७ मतान्तरले हराएका हुन् । गुरुङले ३१ हजार ४६६ र अर्यालले २५ हजार ८३९ मत आफ्नो पक्षमा पारे । त्यसैगरी बाजुरा (क)बाट प्रदेशसभा सदस्यमा नरेशकुमार शाही विजयी भएका छन् ।

समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ । घोषित नतिजाअनुसार संघदेखि प्रदेशसम्म एक दलको बहुमतको सरकार बन्ने सम्भावना छैन । मिलीजुली सरकार बन्ने अवस्था देखिएको छ । प्रमुख दलका शीर्ष नेताहरू संघ र प्रदेशमा समीकरण मिलाएर सरकार बनाउने कसरतमा लागेका छन् ।

प्रदेशमा निर्वाचित दलका प्रभावशाली नेताहरू मुख्यमन्त्री र मन्त्री बन्न लागिपरेका छन् । सातै प्रदेशमा मुख्यमन्त्रीका लागि वर्तमान सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) भित्र ‘प्याकेजमै सहमति’ खोज्ने आवाज उठिरहेको छ ।

कांग्रेसभित्र ७ वटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी देखिएका छन्। माओवादी केन्द्र र नेकपा एस भागबन्डा मिलाएर सरकार गठन गर्नुपर्ने पक्षमा छन्। एमालेमा पनि मुख्यमन्त्रीका दाबेदार धेरै देखिएका छन्। मधेस प्रदेशमा जनता समाजवादी पार्टी ९जसपा० र सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गर्ने देखिएको छ।

निर्वाचनबाट सबै प्रदेशमा उपस्थिति देखाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने अहिलेसम्म मुख्यमन्त्रीका लागि मुख खोलिसकेको छैन । प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीहरू पार्टीका शक्ति केन्द्र रिझाउनेदेखि लिएर संसदीय दलमा आफ्नो पक्षमा बहुमत जुटाउने कसरत गरिरहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्