विराटनगर , २८ वैशाख । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै प्रबन्ध मिलाएको जनाएका छन् । जिल्लामा शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारीले यो समयमा विशेष भूमिका निर्वाह गरिरहेका छन् ।
प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख, १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडा सदस्य निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
नेपालको संविधान २०७२ जारी भएपछि भएको यो स्थानीय तह निर्वाचन दोस्रो हो । राजनीतिक दलहरुले मौन अवधि सुरु हुनुभन्दा अगावै प्रचारप्रसार, चुनावी सभा, घरदैलो कार्यक्रम, भेटघाट, ¥याली, कोणसभा जस्ता कार्यक्रम सम्पन्न गरेका छन् । प्रचार प्रसारका कार्यहरु नभएको भए पनि यतिखेर मुलुक निर्वाचनमय भएको छ ।
निर्वाचनलाई भयरहित, स्वतन्त्र, निष्पक्ष एवं धाँधलीरहित तुल्याउन प्रमुख जिल्ला अधिकारीले आ–आफ्ना जिल्लाको भूगोल, जनसङख्या, मतदान केन्द्र र मतदानस्थलको वास्तविकतामा उभिएर सुरक्षा व्यवस्थापन मिलएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन ।
उनीहरुले सुरक्षाका लागि जिल्लाको वस्तुस्थितिलाई मिहिन ढङ्गले अध्यायन गरेर निर्वाचनमा सुरक्षा प्रबन्ध गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए। खोटाङमा पुरुष ७५ हजार छ र महिला ६८ हजार ७४६ गरी एक लाख ४३ हजार ७५२ जनाका लागि १३६ मतदानस्थल र १९४ केन्द्र तोकिएको छ ।
निर्वाचनको खटनमा नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका २३२, म्यादी प्रहरी एक हजार ८७ जना र कर्मचारी एक हजार ३० जना परिचालन भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । उनले यस जिल्लामा ५८ स्थान संवेदनशील र ३५ स्थान अतिसंवेदनशील पहिचान गरी निर्वाचनमा सुरक्षाको उचित एवं मजबुत प्रबन्ध मिलाएकोले कुनै पनि अप्रिय घटना हुने सम्भावना न्यून छ भने ।
मोरङमा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ गरी जम्मा सात लाख १५ हजार २२३ मतदाताका लागि ३०० मतदानस्थल र ८२० मतदान केन्द्र कायम भएको छ । मोरङमा नेपाल प्रहरीका एक हजार ९७२, सशस्त्रका ६८६, म्यादी तीन हजार १२४ गरी कुल १३ हजार ६७ जना राष्ट्रसेवक कर्मचारी परिचालन भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।