विराटनगर, ९ साउन । प्रदेश नं १ मा कोभिड-१९ विरुद्धको खोप ३२ लाख ७५ हजार ८६६ नागरिकले लगाएका छन् ।
प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ वर्षदेखि माथिका ७९ प्रतिशतले कोभिड-१९ विरुद्धको पूर्णमात्रा खोप यही साउन ४ गतेसम्म लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए ।
खोप लगाउनेमध्ये १२ वर्षमाथिका ८१ प्रतिशतले पहिलो मात्रा, ७९ प्रतिशतले दोस्रो र पाँच प्रतिशतले बुस्टर डोज खोप लगाएको प्रमुख साहले बताए ।
प्रदेशमा कोभिड-१९ विरुद्धको छ प्रकारका खोप नागरिकलाई लगाएका छन् । यसरी लगाइएका खोपमा कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, अष्ट्राजेनेका, फाइजर र मोर्डना रहेका छन् ।
प्रदेशमा अहिलेसम्म ७१ लाख ५७ हजार ४३९ मात्रा खोप आएको छ । कतिपय नागरिकले पहिलो खोप लगाएपश्चात विदेश गएको, अन्य प्रदेशमा लगाएको र व्यवस्थित अभिलेख राख्न नसकेका कारण दोस्रो तथा बुस्टर मात्रा कम देखिएको छ ।
प्रदेशका तराईका जिल्लाको तुलनामा पहाडी तथा हिमाली जिल्लामा खोप लगाउनेको सङ्ख्या तुलनात्मक रुपमा बढी रहेको प्रमुख साहले बताए । तराई क्षेत्रमा विभिन्न अफवाह एवं भ्रमका कारण खोप लगाउनेको सङ्ख्या कम हुन गएको केन्द्रले जनाएको छ ।