विराटनगर, २२ माघ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार ऐन छिट्टै आउने बताएका छन् ।
प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले सञ्चार क्षेत्रको हक, हित र अधिकारका लागि सञ्चार ऐनको मैस्यौदा तयार भइसकेको बताएका हुन् ।
उनले प्रेस र पत्रकारिताको भूमिका व्यवस्थित गर्न ऐन र कानुनबाट सञ्चार प्रतिष्ठान गठन गर्ने भनाइ राखेका थिए । उनले प्रदेशको नाम सकेसम्म सहमतिबाट नामकरण गर्ने र त्यो सम्भव नभए विधि र प्रक्रियाबाट टुङ्गो लगाउने स्पष्ट पारेका थिए ।
कामको बोँझ नथपिएसम्म प्रदेश सरकारले मन्त्रिपरिषद् बिस्तार नगर्ने उनको भनाइ छ । गठबन्धनबाट बनेको यो सरकारले छिट्टै गति लिनेमा उनले विश्वास व्यक्त गरेका थिए ।







