विराटनगर, १० जेष्ठ । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले देशको आर्थिक विकास गर्न कृषिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
प्रदेश नं १ कृषि मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमासम्बन्धी छलफलमा उनले विकास र समृद्धिको यात्रा पूरा गर्न कृषिमा परिवर्तन नगरी सम्भव नहुने कुरामा जोड दिएका छन् ।
खाद्यान्नजस्ता अन्य वस्तु आयात गर्दा धेरै रकम विदेशिने गरेका कारण मुलुकमा समस्या देखिएको उल्लेख गर्दै मन्त्री आङ्बोले खाद्यान्नमा आत्मनिर्भर बन्न उत्पादन वृद्धि गर्नुपर्नेमा बताए ।
परम्परागत कृषि प्रणालीले उत्पादन र उत्पादकत्व नबढेको उल्लेख गर्दै उनले कृषिमा संलग्न सबैले नवीन प्रविधि र सीपको प्रयोग गर्नुपर्ने धारणा राखेका थिए ।