
विराटनगर, २६ जेष्ठ । प्रदेश १ को नामको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समिति बनाएको छ ।
नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकले प्रदेशको नामाकरण राख्ने विषयमा सहजीकरण गर्न संसदीय समिति गठन गरेको हो ।
एमालेले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
एमालेले गठन गरेको समितिको सदस्यमा सांसद जीवन घिमिरे, उषाकला राई, जगदीशप्रसाद कुसियैत र अर्जुन राई रहेका छन् ।
समितिले प्रदेशको नाम राख्ने विषयमा पहिले आफ्नो दलभित्र छलफल गरी सहमतिका आधारमा नाम टुंगो लगाउन पहल गर्ने बताइएको छ ।
अहिलेसम्म ६ वटा प्रदेशले आफ्नो नाम राखिसकेका छन् । प्रदेश एक प्रदेश सभाको कार्यअवधि नै पूरा हुन लाग्दासमेत औपचारिक रूपमा नामको विषयमा छलफल हुन सकेको छैन ।







