विराटनगर, १७ पुस । प्रदेश-१ को प्रदेश अधिवेशनले निजामती सेवा अध्यादेश सर्वसम्मतिले पारित गरेको छ ।
आइतबार भएको पहिलो बैठकबाट प्रदेशसभा नियमावली पहिलो संशोधनलाई स्विकार गर्ने र प्रदेश निजामती सेवा अध्यादेश २०७९ सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेशसभा नियमावलीको संशोधनसहितलाई स्विकार गर्न प्रदेशसभा सदस्य भीम पराजुलीले प्रस्ताव गरेका थिए ।
आइतबार ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकले प्रदेश निजामती सेवा अध्यादेशलाई पनि सर्वसम्मतिले पारित गरेको छ । अध्यादेश पारित गरिपाउँ भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रस्ताव पेश गरेका थिए ।
संघीय सरकारबाट कानुन निर्माणमा भएको ढिलाले प्रशासनिक संघीयता कार्यान्वयन गर्न विलम्ब भएकोले प्रदेशको अध्यादेश ल्याउनु परेको मन्त्री कार्कीले बताए । पहिलो कार्यकाल पूरा गरिसक्दा समेत निजामती ऐन नआएकोले अध्यादेशमार्फत नयाँ सरकारलाई काम गर्न सहज हुने गरी अध्यादेश ल्याएको सदन समक्ष कार्कीले जानकारी गराएका थिए ।
प्रदेश सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संसोधन अध्यादेश २०७९ जारी गरेको थियो ।
बैठकले मन्त्री पदमै वाहल रहेका बेला निधन हुन पुगेका वनमन्त्री शेखरचन्द्र थापाप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रदेशसभाको अर्को बैठक पुस २५ गते दिउँसो १ बजे बोलाइएको छ ।






