Logo

प्रदेश-१ को वार्षिक नीति तथा कार्यक्रमको छलफल सकियो



विराटनगर, २७ जेठ । प्रदेश-१ प्रदेशसभाको आज भएको दशौँ तथा बजेट अधिवेशनको पाँचौ बैठकमा आर्थिक वर्ष २०७९/८० वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलले निरन्तरता लिएको छ । छलफलमा भाग लिँदै सदस्यहरुले आफ्नो सुझाव एवं आलोचनात्मक समर्थन गरेका छन् ।

छलफलमा प्रदेश-१ का पूर्वमुख्यमन्त्री शेरधन राईले अघिल्लो सरकारले गरेका कोभिड-१९ मा जनताको स्वास्थ्य सुरक्षा, प्रदेश सरकारको जग बसाल्न पूर्वाधार निर्माण र कानून निर्माणजस्ता कुराको जस लिन वर्तमान सरकारले नीति कार्यक्रममा उल्लेख गरेको आरोप लगाएका छन् ।

उनले अघिल्लो सरकारले जनताको सेवा सुविधाका लागी विभिन्न जिल्लामा स्थापना गरेको कार्यालय बन्द गरेकोमा असन्तुष्टि व्यक्त गर्दै वर्तमान सरकारले विभिन्न निर्माणका आयोजना स्वार्थअनुसार छानीछानी छनौट गरेको आरोप लगाएका छन् ।

त्यसैगरी सुझाव दिने २० प्रदेशसभा सदस्यमा अम्विका थापा, उत्तमकुमार बस्नेत, उषाकला राई, जीवन घिमिरे, तुलसीप्रसाद न्यौपाने, पूर्णप्रसाद राई(याम्फु), बलबहादुर साम्सोहाङ, बिमल कार्की, वुद्धिकुमार राजभण्डारी, मोहनकुमार खड्का, यशोधा अधिकारी, राजकुमार ओझा, रामबहादुर मगर, रामचन्द्र लिम्वु, लछुमन तिवारी, लीला सुव्वा, लोकप्रसाद सङ्ग्रौला, सन्जाकुमारी दनुवार, सरिता थापा र सावित्री जोशी रहेका छन् ।

प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल आजदेखि सम्पन्न भएको छ । प्रदेशसभाको अर्को बैठक जेठ २९ गते दिनको १ बजे वस्ने सभामुख प्रदीपकुमार भण्डारीले सदनलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्