Logo

प्रदेश १, सुदूरपश्चिम र एपीएफ सेमिफाइलनमा



इटहरी, ३ माघ । प्रदेश १, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा पुगेका छन् ।

मङ्गलवार इटहरीमा भएको खेलमा कर्णाली प्रदेशलाई १० विकेटले हराउँदै प्रदेश १ अन्तिम चारमा पुगेको हो ।

कर्णालीको यो लगातार तेस्रो हार हो । मैदान ओसिलो भएका कारण खेल ढिला सुरु हुँदा खेल ११ ओभरमा झारिएको थियो । जसमा कर्णालीले प्रदेश एकलाई ४० रनको लक्ष्य दिएको थियो । ४० रनको लक्ष्य प्रदेश १ ले ४ ओभर ५ बलमा विना विकेट गुमाएर भेटायो ।

आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश पनि सशस्त्र प्रहरीको एपीएफ क्लबलाई चार विकेटले हराउँदै सेमिफाइलनमा पुगेको छ । एपीएफले दिएको ९२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ४ बल बाँकी छँदै छ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमकी डोली भट्टले सर्वाधिक ३३ रन बनाइन् ।

एपीएफकी नेरी थापाले तीन विकेट लिइन । यसअघि पहिले ब्याटिङ गरेको एपीएफका लागि लागि ममता चौधरीले सर्वाधिक २६ रन बनाइन् ।

समूह ‘ए’ मा चार अङ्क रहेको एपीएफ पनि दोस्रो स्थानमा रहेर सेमिफाइलनमा पुगेको छ । प्रतियोगितामा सात प्रदेश र एपीएफ गरेर आठ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्