काठमाडौँ, १६ जेठ । सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन संसदीय सुनुवाई समितिलाई आग्रह गरेका छन् ।
मंगलबार बसेको समितिको बैठकमा बोल्दै सभामुख घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा समितिमा पत्र समेत आएर बसेको उल्लेख गर्दै नियुक्ति प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।
उनले समितिले गर्ने कार्यसम्पादनहरू छिटोभन्दा छिटो गरी जिम्मेवारीका साथ भुमिका निर्वाह गर्न समिति सदस्यहरूलाई आग्रह गरेका छन् ।
‘यसले आफ्नो जिम्मेवारीलाई निश्चय पनि राम्ररी पूरा गर्नेछ। विभिन्न कारणले गर्दा खेरी यो गठन हुनलाई ढिलाइ भयो। अब अहिले गएर यसले पूर्णता पाएको छ । सभापति विधिवत रूपबाट छान्न बाँकी छ । हाम्रो अगाडि लामो समयदेखि सुनुवाइ हुन नसकेर बाँकी रहेको, खास गरी प्रधानन्यायाधीशको सवाल हामीसँग २७ गतेदेखि नै चिठी आएर रोकिएर बसेको छ,’ सभामुख घिमिरेले भने, ‘अरू पनि यस्ता कुराहरू छन् । त्यसैले यि कुराहरूलाई छिटो भन्दा छिटो सम्पादन गरेर त्यसमा गर्नुपर्ने काममा यसले जिम्मेवारीका साथ भुमिका निर्वाह गर्न सकोस् । यहाँहरूको व्यवहारबाट, दृष्टिकोण, निर्णयहरूबाट धेरै कुराहरू सिकेर केही गर्न सकियोस् भन्ने मेरो चाहना छ ।’







