काठमाडौं, २ माघ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसँगको औपचारिक वार्ता भंग भइसके पनि प्रधानमन्त्रीको अनुरोधलाई सम्मान गर्दै वार्तामा सहभागी भएको बताएका छन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका प्रसाईंले प्रधानमन्त्रीले माघ २ गते वार्तामा उपस्थित हुन चिठी पठाएपछि त्यसको कदरस्वरूप आफू आएको स्पष्ट पारे। उनले सरकारसँग वैधानिक आधार नरहेको भन्दै यसअघि नै वार्ता तोडेको दाबीसमेत गरे।
प्रसाईंले भने, “मैले सरकारसँगको वार्ता भंग गरिसकेको हुँ। त्यसपछि प्रधानमन्त्रीको तर्फबाट चिठी आयो, माघ २ गते वार्तामा आइदिनु भनेर। प्रधानमन्त्रीजस्तो व्यक्तिले बोलाउँदा सम्मान गर्नु उचित ठानेर मात्र आएको हुँ।”
उनका अनुसार, सरकारसँग स्पष्ट वैधानिकता नदेखेकै कारण आफूले वार्ता निरन्तरता नदिएको हो। यद्यपि, प्रधानमन्त्रीको व्यक्तिगत आग्रहलाई बेवास्ता गर्न उचित नलागेकाले आफू कार्यालय पुगेको उनको भनाइ छ।







