काठमाडौँ, २८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जातजाति भड्काएर राजनीति नगर्न सुझाव दिनुभएको छ । संसदमा प्रधानमन्त्रीले दलित र जनजातिलाई आफूहरूले दिलाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेको प्रति शाहीले कडा जवाफ फर्काउनु भएको हो ।
प्रधानमन्त्रीले दलितको कुरा गरिरहँदा आफ्नो मन्त्रिपरिषदलाई फर्केर हेर्न उहाले सुझाव दिनुभयो ।
प्रमुख सचेतक शाहीले सहकारी ठगी, सुन तस्करीका आरोपित तथा निर्मला हत्याकाण्डका दोषीलाई छानविन तथा पक्राउ गर्न नसकिएको भन्दै सरकारको आलोचना समेत गर्नुभएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले राख्नुभएको विश्वासको मतसम्बन्धी छलफलमा भाग लिँदै उहाँले सहकारी ठगी प्रकरणका आरोपितलाई किन पक्राउ नगरिएको भनेर प्रश्न गर्नुभयो ।
सांसद शाहीले सहकारी ठगीका आरोपित जिवी राईलाई पक्राउ गर्न नसकिएको भन्दै गृहमन्त्री रवी लामिछानेलाई अझै पक्राउ गर्ने समय रहेकाले पक्राउ गर्नसमेत सुझाव दिनुभयो । उहाँले पछिल्लो समय मुलुकको समृद्धि हुन नसक्दा विदेशिने युवा बढ्दै गएका बताउनुभयो ।
सांसद शाहीले जातीय छुवाछूतविरुद्धको कानुन राजाको पालामा नै बनेको उल्लेख गर्दै अहिलेका राजनीतिक दलले यसको श्रेय लिएर जातजातिलाई भड्काउन नहुनेमा जोड दिनुभयो । “रुकुमपश्चिममा नवराज विकको हत्या गणतन्त्रपछि नै भएको हो, राजाको पालामा होइन । अब फेरि राजनीतिक कारणले मुलुक युद्धमा नधकेलियोस्, जातजातिका नाममा राजनीति नगरियोस्”, उहाँले भन्नुभयो ।
उहाँले आफ्नो पार्टीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने जानकारी गराउनुभयो ।