काठमाडौँ, ३ जेठ । एमाले सांसद प्रदीप ज्ञवालीले देश संकटमा पर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक अवस्थासहितका कारण देश संकटमा पर्दा पनि प्रधानमन्त्री र विभागीय मन्त्री गम्भीर बन्न नसकेको आरोप लगाए ।
‘सत्ताको सेटिङ तुहिएको छ भने प्रधानमन्त्रीज्यू ब्युँझिनुहोस्, मन्त्रीज्यू ब्यूँझिनुहोस्, देश संकटमा छ’, उनले भने, ‘देश संकट पर्दा पनि सरकार गम्भीर बन्न सकेन । हामी यसको खबरदारी गर्छौैं ।’
सांसद ज्ञवालीले निर्वाचन नै गराउन नचाहको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको आरोप लगाए । ‘पहिला त सरकारले निर्वाचन नै गराउन चाहेको थिएन। अन्तिम समयमा पनि चुनाव सार्ने तयारी गरेको थियो,’ उनले भने, ‘चुनावमा राज्यशक्ति प्रयोग गरेर धाँधली गरियो, यो संसदमा रेकर्ड गराउन चाहन्छौँ ।’
एमालेविरुद्ध लागेको गठबन्धनको सामना गर्दै एमाले निर्वाचनमा होमिएको बताएका उनले अहिले आइरहेको परिणामबाट एमाले नआत्तिएको बताए ।