Logo

प्रधानमन्त्रीद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण



काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको छ । सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उहाँले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । “नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवङ्गत पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यस क्रममा सभापति देउवाले ‘संसद् प्रतिपक्षको हो’ भन्ने भाष्य स्थापित गर्न ढुङ्गानाले भूमिका खेल्नुभएको स्मरण गर्नुहुँदै उहाँको त्यो कदमको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रशंसा भएको बताउनुभयो । “उहाँको निधनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ”, सभापति देउवाले भन्नुभयो ।

दिवङ्गत ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न सानो गौचरनमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरू डा। बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी तथा पूर्वसांसद, पूर्वप्रशासक, वरिष्ठ कानुन व्यवसायी, मानवअधिकारकर्मी र नागरिकको उल्लेख्य उपस्थिति छ ।

यसैगरी, गृहमन्त्री रमेश लेखक, उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु सानोगौचरन पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यस्तै, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

त्यस्तै, आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उहाँप्रति श्रद्धाञ्जली व्यक्ति गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरन पुग्नुभएको छ । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । सानोगौचरनमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्