काठमाडौँ, २ पुस । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नयाँ सरकारको नेतृत्वमा नेकपा (माओवादी केन्द्र)को दाबी स्वाभाविक भएको बताएका छन् ।
उनले अबको प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी स्वाभाविक भए पनि कांग्रेसकै नेतृत्व उपयुक्त हुने जिकिर गरेका हुन् ।
“प्रचण्डजीले पनि प्रधानमन्त्री दाबी गर्नुभएको छ । यसलाई पनि हामी स्वाभाविक लिन्छौँ,” शनिबार उनले भने, “तर, सबै रूपमा कांग्रेसको नेतृत्व उपयुुक्त हुन्छ ।”
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बालुवाटारमा कांग्रेसबाट नवनिर्वाचित सांसदहरूलाई बोलाएका थिए । बधाई तथा शुभकामना दिएका थिए । त्यसपछि सञ्चारकर्मीसित प्रतिक्रिया दिँदै डा.महतले ठूलो दल बनेकाले कांग्रेसको प्रधानमन्त्री बन्ने कुरा स्वाभाविक हुने बताए ।
उनले संसदीय दलको निर्वाचन केही दिनमै हुने र सर्वसम्मत नेता चयनको प्रयास गरिने बताए । “संसदीय दलको निर्वाचन केही दिनमै हुन्छ । अरू दलको सहयोग लिएर सरकार बनाउने भएकाले एकताको सन्देश दिन पनि सर्वसम्मत नेता चयनको प्रयास हुन्छ,” उनले भने ।







