Logo

प्रधानमन्त्रीलाई नागरिक तर्साउने छुट छैन: थापा



काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म नागरिक डरबाट मुक्त हुन नसक्ने बताएका छन् ।

बिहीवार सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागि नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु नागरिकमा नैराश्यता रहेको बताएका छन् ।

उनले भने, ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुहोस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ । दिनमा कम्तीमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् । मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने? डराउनुहोस् ।’

महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए । उनले आफूले अहिलेसम्म नागरिकमा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्