काठमाडौँ, १९ भदौ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक विचार प्रधानमन्त्री दाहालले बोल्न नहुने उनको भनाइ थियो ।
पार्टी निकट कर्मचारीहरूको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहका अराजक अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए । उनले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने समेत बताएका हुन् ।
नेता कोइरालाले भने, ‘देश अराजकतातिर बढ्यो भन्ने खबर २/३ दिन पहिले कहिले हो? काठमाडौँका मेयरले जुन बोल्नुभयो । देशको सबैभन्दा ठूलो महानगरको मेयर त्यस्तो अराजक बोल्नु हुँदैन । देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देऊ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौं भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन ।’







