काठमाडौँ, २० भदौ । पूर्वउपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा गौतमले जनयुद्धकालमा राम्रा काम पनि भएको र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्ध पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफूले माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारेका थिए । राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभई गल्ती भएको उनको जिकिर छ ।
उनले भने, ‘हामी नेपालको सबै कम्युनिस्टहरूलाई एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जान सक्छु । म माओवादी केन्द्रमा जान सक्दिन । किनभने जनयुद्धकालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरूको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले पीडितका घरमा गएर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन ।’







