काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई आत्मविश्वासी तर विनम्र बन्न सुझाव दिएका छन् । उनले अन्याय सहन नहुने र तर असंयमित आचरण पनि नदेखाउनुपर्ने स्पष्ट पारे ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा युवाहरू घमण्डी हुने छैनन्, गुण्डा पनि हुने छैनन्, तर बलवान र शालिन हुनेछन् । कसैले गालामा पिट्न आयो भने ‘ओम शान्ति’ भन्दै बस्ने होइन, जवाफ दिन सक्ने आत्मबल हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले घमण्डले व्यक्तिलाई विनाशको दिशामा लैजान्छ भन्ने उदाहरण दिँदै युवा संघका सदस्यहरूलाई अनुशासन र विचारको दिशामा अगाडि बढ्न आग्रह गरे । ‘अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने सन्देश जनतामा स्पष्ट हुनुपर्छ,’ उनले जोड दिए ।
अहिले युवालाई प्रचारको लागि मात्रै प्रयोग गर्ने प्रवृत्ति बढेको भन्दै ओलीले युवाको भूमिका अर्थपूर्ण हुनुपर्नेमा जोड दिए । ‘युवा भन्नाले केवल उमेरको कुरा होइन, कस्तो स्तरमा, के काम गर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । दक्षता, सीप र अनुभव अनिवार्य छन्,’ उनले भने ।
साथै, प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको होइन, विचार र नेतृत्वको सही मूल्यांकन गर्दै अघि बढ्नुपर्ने बताए । राष्ट्रिय युवा संघलाई स्थानीय तह निर्वाचनसम्मको कार्यकालमा योजनाबद्ध रूपमा सक्रिय बन्न उनले निर्देशन दिए ।