काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले प्रधानमन्त्रीले भनेजस्तो अर्थतन्त्र सुधारको अनुभूति गर्न नपाएको बताएका छन् ।
उनले सरकार आफैँले मुलुकको अर्थतन्त्रको सूचकांक राम्रो छ भनेर विश्वास गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारमा सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाएका हुन् ।
‘आज संसद्मा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारिएको कुरा गर्नुभयो । अर्थमन्त्रीले पनि त्यही भन्दै आउनुभएको छ,’ नेता डा.कोइरालाले भने, ‘तर सरकारले भनेजस्तो अर्थतन्त्रमा सुधार आएको अनुभूति जनताले गर्न पाएका छैनन् । देशको आर्थिक अवस्था नाजुक अवस्थाबाट गइराखेको छ भन्ने मलाई लाग्छ ।’
पार्टीको महासमिति बैठकको सम्मुखमा आइतबार आफैँले गरेको चियापान कार्यक्रममा नेता डा.कोइरालाले सरकारले रेमिट्यान्सलाई देखाएर देशको अर्थतन्त्र सुधार भइरहेको दाबी गरेकाप्रति आपत्ति जनाएका थिए ।
‘देशको आर्थिक अवस्थाको कुरा गर्दा आज पनि प्रधानमन्त्रीजीले संसदमा भने आर्थिक सूचकांकहरु राम्रो हुँदैछ भनेर । तर जनताले त्यो सूचकांक राम्रो छ कि छैन? भन्ने कुराको अनुभुति गरेको अवस्था छैन,’ कोइरालाले अघि भने, ‘सरकारको तथ्यांकमा रेमिट्यान्स बढेको बढ्यै छ । त्यसमा सरकार खुसी भइरहेको छ । सरकारमा बस्ने हामी सबै नेपालीहरु खुसी छौं । तर के रेमिट्यान्स बढेर देशको समुन्नति सम्भव छ? कि अब पनि हामी रेमिट्यान्समै रमाउने हो?’





