काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले १९ औँ निजामति सेवा दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताए । उनले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राखे । “हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो”, उनले भने, “तर कर्मचारी (तपाई)हरु स्थायी सरकार हो ।
मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ ।” उनले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताए । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे ।







