कञ्चनपुर, २२ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमासँग भेट गरेका छन् ।
शुक्रबार कैलालीको धनगढी विमानस्थलमा प्रधानमन्त्रीले विपिनका बाबुआमासँग भेटेका हुन् । भेटमा उनीहरूले प्रधानमन्त्रीसँग छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्रीले विपिनलाई सकुशल रिहा गराउनका लागि सरकारले पहल गरिरहेको बताए ।
भीमदत्त नगरपालिका-३ घर भएका विपिनका बुबाआमाले यसअघि काठमाडौँ नै पुगेर परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेका थिए । उनले पनि विपिनलाई छिट्टै रिहा गराउने आश्वासन दिएका थिए ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए ।
गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिनलाई भने हमासले कब्जामा लिएको थियो । कब्जामा लिएयता उनको कुनै खबर प्राप्त हुन सकेको छैन ।







