Logo

प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री आज चितवन जाने



काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्रीले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने भएका छन् ।

वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य नेता चितवन जाने भएका हुन् । आज दिउँसो ३ बजे कालिका नगरपालिका–४ पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा चार दलीय गठबन्धनले चुनावी सभाको आयोजना गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड हेलिकप्टरमा कालिका नगरपालिकामा गएर त्यहीबाट फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्