जुम्ला, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गरिएको छ । आइतबार प्रधानमन्त्री ओलीद्वारा प्रतिष्ठानको सुविधायुक्त शैक्षिक भवन उद्घाटन गरिएको हो ।
प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह,सिनेट बैठक लगायतका कार्यक्रममा सहभागी हुन बुधबार जुम्ला पुगेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नयाँ शैक्षिक भवनको औपचारिक उद्घाटन गर्नु भएको हो ।
भवन उद्घाटन भए लगत्तै प्रतिष्ठानको सिनेट बैठक सुरु भएको छ । सिनेट बैठकपछि दीक्षान्त समारोह सुरु हुने छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेढ दशकपछि बल्ल आफ्नै सुविधायुक्त शैक्षिक भवन पाएको छ । २०६८ सालमा स्थापना भएको कर्णाली प्रतिष्ठान हाल सम्म भाडाकै घरमा अध्यापन गर्दै आएको थियो । तर झण्डै १३ वर्षपछि भने प्रतिष्ठानले अध्यापन गर्नका लागि आफ्नो नयाँ शैक्षिक भवन पाएको छ ।
प्रतिष्ठानमा एक दर्जन बढी स्नातक र स्नातकोत्तर तहका कार्यक्रम सञ्चालन छन् । त्यसका लागि एक सय प्रोफेसर छन् । तर प्रतिष्ठानको आफ्नै आवास भवन र शैक्षिक भवन नहुँदा घर भाडामा लिनु पर्ने बाध्यता थियो । आफ्नो शैक्षिक भवन र स्टाफ क्वाटर नहुँदा प्रतिष्ठान भाडामा मात्रै वर्षेनी करोडौँ खर्चिन बाध्य छ ।
जुम्लामा आउने प्रोफेसरहरूलाई टिकाई राख्न,प्रतिष्ठानमा सञ्चालित कार्यक्रमहरूलाई दिगो रुपमा सञ्चालन गर्न प्रतिष्ठानले आफ्नै शैक्षिक,प्रशासनिक तथा आवास भवन बनाउन थालेको थियो ।
शैक्षिक भवनसहित छुट्टै क्वाटर–१ भवन सिनियर २५ जना प्रोफेसरहरूको लागि सुविधायुक्त भवन बनेको छ । भने,क्वाटर–२ भवन अन्तर्गत २५ जना जुनियर प्रोफेसरका लागि भवन बनेका छन् । उक्त दुई क्वाटर ब्लकहरूमा एकल बस्नेदेखी परिवार सहित बस्ने सम्मको सम्पुर्ण पूर्वाधार सहितको व्यवस्थापन छ ।