झापा २३ मंसिर । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुई दिवसीय भ्रमणका क्रममा आज गृहजिल्ला झापा आइपुग्नुभएको छ ।
प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको हाे ।
उहाँले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्नुहुने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।
प्रजिअ बाँस्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुनुहुने कार्यक्रम छ ।
गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक उहा गृहजिल्ला आउनुभएको हो ।
नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन जिल्लास्थित भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले आज दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानवसेवा आश्रम भवनको शिलान्यास र दिउँसो १ः३० बजे दमक–३, दापगाछीस्थित व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले बताउनुभयो ।
यसैगरी, भोलि सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मेचीनगरको मानवसेवा आश्रम शिलान्यासबाहेक अन्य सबै कार्यक्रम उहाँको निर्वाचन क्षेत्रभित्र पर्ने एमाले जिल्ला अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
त्यस्तै, एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।