काठमाडौँ, ११ पुस । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ ।
बुधवार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनको फराकिलो अन्तरले हराएको हो ।
एपीएफले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक १९ रन बनाइन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले ४ विकेट लिइन् ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनायो । एपीएफका लागि राजमती ऐरीले ६७ र ममता चौधरीले ६२ रन बनाइन् । बलिङतर्फ कर्णालीकी तृसना विश्वकर्माले १ विकेट लिइन् । यो जितसँगै एपीएफ ५ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । लगातार ५ खेल हारेको कर्णाली तालिकाको पुछारमा छ ।
त्यस्तै आजै मूलपानी क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ५५ रनले हराएको छ ।
कोशीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रन बनाउँदा अल आउट भयो । गण्डकीका लागि सुमन खतिवडाले नट आउट २१ रन बनाइन् । बलिङतर्फ कोशीकी कप्तान रुबिना क्षेत्रीले ३ तथा सङ्गीता राई र एलिशा खडियाले समान २ विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायो । कोशीका लागि बिमला मलहाले २५, सङ्गीता राईले नट आउट २३ र लकिता राजवंशीले २२ रन बनाइन् । बलिङतर्फ गण्डकीकी कुसुम गोदार सृष्टि जैसीले समान २ विकेट लिइन् । यो जितसँगै ५ खेलमा ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । गण्डकी ५ खेलमा २ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।