Logo

प्रधानमन्त्री कप क्रिकेट: गण्डकीलाई हराउँदै पुलिस फाइनलमा



काठमाडौँ, १५ माघ । गण्डकी प्रदेशलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुग्ने पहिलो टोली बन्न सफल भएको हो ।

यससँगै पुलिसले सातौँ खेलमा सातौँ जित निकाल्दै दुई खेल अगाडि नै फाइनलमा स्थान पक्का गरेको छ । पुलिस १४ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । पराजित गण्डकी भने आठ खेलमा चार अङ्क जोड्दै अङ्क तालिकाको आठौँ स्थानमा छ ।

गण्डकी प्रदेशले प्रस्तुत गरेको एक सय ७१ रनको लक्ष्य पुलिसले २४ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । पुलिसको जितमा दिलिप नाथले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ३९ बलमा ६ चौका र चार छक्काको मद्दतले ५७ रन बनाएका हुन् । अर्जुन साउदले अविजित ४४ रन बनाउँदा आरिफ शेखले अविजित २७, कुशल भुर्तेलले २२ र शङ्कर रानाले १२ रन बनाएका हुन् ।

गण्डकीका लागि सन्दीप पराजुलीले दुई विकेट लिए भने कमल परियार र कप्तान विपिन खत्रीले समान एक-एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकीले ३८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७० रनको योगफल बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङले सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनले ३९ बलमा आठ चौका र दुई छक्काको मद्दतले ५० रन जोडेका हुन् ।

यसैगरी किरण पंगेनी र कमल परियारले समान ३०-३० रन बनाए भने समिर कँडेलले २९ र कृष ऐरले १० रन बनाए । बलिङतर्फ पुलिसका राशिद खानले पाँच विकेट लिए भने करण केसी र ललितनारायण राजवंशीले समान दुई-दुई विकेट झारे । कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्